चौदण्डीगढी नगरपालिका-७, कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्तीको बथानले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमका अनुसार हात्तीहरू हिजो राति कुमाङ प्रवेश गरी ६ वटा घर भत्काएका हुन्।
प्रहरीका अनुसार हात्तीले बुद्धीमान राई, राधा बीके, रोशन बीके, बमबहादुर बीके, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतका स्थानीयका खरको छाना भएका काठका घरहरूलाई निशाना बनाएका थिए। स्थानीय पुष्पा राईले हात्ती गाउँमा पसेपछि ज्यान जोगाउन स्थानीयहरू भागेको बताइन्।
चौदण्डीगढी नगरपालिकाले घर भत्किएकाहरूका लागि सुरक्षित क्षेत्रको व्यवस्था गरेको छ। यो हात्तीको समूह कोशीटप्पु क्षेत्रबाट आएको र हाल लामाचौरी र ४५ चोक नजिकका जंगलमा घुमिरहेको अनुमान गरिएको छ। अधिकारी बमले गाउँलेहरूको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।